
बाराको परवानीपुर गाउँपालिका–२ मुसहरीस्थित सडक खण्डमा बुधबार राति भएको सवारी दुर्घटनामा एक वृद्ध पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ना.१ ज ७३७३ नम्बरको टाटा सुमोले पैदल यात्रु ६५ वर्षीय गौरीशंकर साहलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनापछि सो सुमो गाडी नजिकैको बिजुलीको पोलमा ठोक्किँदा पोल भाँचिएको र गाडी त्यहीँ रोकिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायब निरीक्षक दिपक कुमार बस्नेतको कमाण्डमा टोली खटिएको थियो। प्रहरीले सुमो चालक २२ वर्षीय राजन साह कानुलाई नियन्त्रणमा लिएको छ।
त्यसैगरी, प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा पुगेको अर्को टोलीले घटनास्थलको मुचुल्का संकलन गरी शवलाई प्रादेशिक अस्पताल कलैयामा पोष्टमार्टमका लागि पठाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न सुमो गाडी समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।

