

रौतहटको फतुवा विजयपुर नगरपालिका–८, विजयपुर चोक नजिक आइतबार राति प्रहरीले दुई जनालाई चोरीको शङ्कास्पद मोटरसाइकलसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चन्द्रनिगाहपुर–८ का ३४ वर्षीय रामलाल पासवान र कटहरिया–५ का ४९ वर्षीय परमानन्द महतो रहेका छन्।
ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरका प्रमुख सुरेन्द्र यादवको टोलीले सूचना पाउने बित्तिकै घटनास्थलमा पुगेर विजयपुर चोकबाट करिब १०० मिटर पूर्व रमेश भट्टराईको घर नजिक दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
रौतहट प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार उनीहरू मधेस प्रदेश ०५–००१ प ०३९१ र बीआर ०६ सीएन ८८५२ नम्बरका मोटरसाइकलमा आएका थिए र स्थानीयसँग बिक्रीका लागि कुरा गरिरहेका थिए। शङ्का लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
ईलाका प्रहरी कार्यालयले पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

