
नयाँ दिल्ली — भारतको राजधानी दिल्लीको वायु गुणस्तर अत्यन्तै खराब बन्दै गएको छ। शुक्रबार बिहान औसत वायु गुणस्तर सूचकाङ्क (AQI) ३९१ पुगेकोमा केही समयमा नै बढ्दै ६२१ पुगेपछि दिल्ली विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ। अहिले पनि वायु सूचकाङ्क ४५० भन्दा माथि छ।
तीव्र प्रदूषणका कारण नागरिकहरू श्वासप्रश्वाससम्बन्धी समस्यामा परिरहेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सरकारले प्रभावकारी कदम नचालेको भन्दै स्थानीयवासीले शान्तिपूर्ण प्रदर्शन समेत गरेका छन्।

दिल्लीपछि पाकिस्तानको लाहोर विश्वका प्रदूषित सहरहरूको सूचीमा दोस्रो स्थानमा परेको छ। लाहोरमा पनि बिहानै AQI तीन सयभन्दा माथि पुगेको थियो।
वायु प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर जोखिम देखिएको विज्ञहरूको भनाइ छ। उनीहरूले सकेसम्म घरभित्रै बस्न र बाहिर निस्कँदा मास्क अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन्।
प्रत्येक वर्ष अक्टोबरदेखि जनवरीसम्म भारतमा तापक्रम घट्दै जाँदा धुवाँ, धुलो, सवारी प्रदूषण र कृषिजन्य अवशेष जलाउने प्रवृत्तिका कारण प्रदूषण तीव्र हुने गर्छ। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार AQI १०० भन्दा कम सुरक्षित मानिन्छ, तर ५०० भन्दा माथि पुगेमा वायु ‘अत्यन्तै खतरनाक’ श्रेणीमा पर्छ।

