
इस्लामाबाद — पाकिस्तानको संसदले संविधान संशोधन गरेर सेना प्रमुख फिल्ड मार्शल असीम मुनिर र अन्य पाँच-तारे जर्नेलहरूलाई जीवनभर कानूनी उन्मुक्ति प्रदान गरेको छ।
फाइनान्सियल टाइम्सका अनुसार संशोधन अनुसार मुनिर अवकाश पाए पनि ओहोदा कायम रहनेछ। उनको वर्तमान कार्यकाल २०२७ मा सकिँदैछ र त्यसपछि पाँच वर्षका लागि थपिन सक्ने व्यवस्था गरिएको छ।
त्यस्तै, विगतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप खेपेका पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जरदारी पनि जीवनभर अभियोगबाट उन्मुक्त हुनेछन्।

संशोधनमाथि छलफलका क्रममा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको विपक्षी दल पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) का सांसदहरूले विरोध जनाए। तर, तल्लो सदनले दुई तिहाई बहुमतका साथ संशोधन पारित गर्योक।
विशेषज्ञहरूले नयाँ संशोधनले मुनिरको सेनामाथि नियन्त्रण थप विस्तार गरेको र सर्वोच्च अदालतको संवैधानिक मामिलामा प्रभाव भने केही हदसम्म घटाएको विश्लेषण गरेका छन्।
हाल सेना प्रमुखको रूपमा मुनिर पाकिस्तानका सबैभन्दा शक्तिशाली व्यक्तित्व मानिन्छन्। संशोधनले उनलाई रक्षा बल प्रमुखको उपाधि पनि प्रदान गरेको छ, जसले वायुसेना र नौसेनाको औपचारिक कमान्ड समेत सुम्पेको छ।
विश्लेषकहरूले यो कदमले मुनिरलाई पाकिस्तानमा विगतका तानाशाहहरूसँग तुलना हुने स्तरको प्रभाव प्रदान गर्ने अनुमान गरेका छन्।

