
नेकपा एमाले पर्साले भदौ २३ र २४ को जेन–जी आन्दोलनका क्रममा वीरगन्जमा भएको तोडफोड, लुटपाट र आगजनी घटनामा संलग्न आफ्नै नेताकार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
सोमबार वीरगन्जमा बसेको एमाले पर्सा जिल्ला कमिटीको पाँचौं पूर्ण बैठकले आन्दोलनपछि विभिन्न माध्यमबाट राजीनामा दिएका तथा तोडफोड–आगजनीमा संलग्न कार्यकर्ताको सदस्यता खारेज गर्ने निर्णय गरेको जिल्ला सचिव महेश दासले जानकारी दिए।

जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्माको अध्यक्षतामा बसेको बैठकले सुन्दर प्रसाद कुर्मीलाई जिल्ला प्रचार विभाग प्रमुखमा मनोनीत गरेको छ। यस्तै, मंसिर १३ गते महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन गर्ने र मंसिर २७ गते काठमाडौंमा हुने महाधिवेशन उद्घाटन समारोहमा जिल्लाबाट व्यापक सहभागिता सुनिश्चित गर्ने निर्णय गरिएको दासले बताए।
बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले संगठनहरूबीचको आन्तरिक मतभेद हटाएर एकतावद्ध रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए। उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जबज (जनताको बहुदलीय जनवाद) सफलतापूर्वक कार्यान्वयन हुँदै आएको दाबी गर्दै मधेस प्रदेशसहित देशभर एमाले पहिलो पार्टीको रूपमा स्थापित भएको बताए।
आगामी निर्वाचन पनि ओलीकै नेतृत्वमा जाने दाबी गर्दै महासेठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूले ओलीलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाए तर महाधिवेशनपछि पनि पार्टीको नेतृत्व ओलीकै हातमा रहनुपर्ने टिप्पणी गरे।
बैठकमा केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, केन्द्रीय सल्लाहकार जालिम मियाँ, मुन्नी श्रीवास्तव, ठाकुर प्रसाद न्यौपाने, प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश थारु, प्रदेश सभा सदस्य बिना शर्मा, पोखरीया नगरपालिका मेयर प्रधुम्न चौहान, सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यशवन्त यादव, छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्तालगायतको सहभागिता थियो।

