
जिल्ला प्रहरी परिसर काठमाडौँले अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने युवक बारा, कलैया–२० घर भई हाल काठमाडौँ–१५ डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफ हुन्।

प्रहरीका अनुसार उनी क्रिप्टोकरेन्सीको अवैध कारोबार भइरहेको सूचना पाएपछि निगरानी गरी नियन्त्रणमा लिइएको हो । पक्राउको समयमा उनका साथबाट विभिन्न कम्पनीका दुई थान मोबाइल फोन बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानमा खुल्न आएको तथ्य अनुसार सेफले नेपाली रुपैयाँ १९ करोड ८१ लाख ४९ हजार ५८१ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेका थिए । उनलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ ।
प्रहरी अनुसन्धानका क्रममा सेफले कारोबारका अन्य साझेदार र लेनदेनको विवरणबारे समेत जानकारी दिने अपेक्षा गरिएको छ । प्रहरीले अवैध क्रिप्टोकरेन्सी कारोबार नियन्त्रणमा लिन कडा निगरानी तथा अनुसन्धान जारी राख्ने जनाएको छ ।

