
वीरगञ्ज महानगरपालिकाले सहरको केन्द्रमा रहेको घण्टाघर नजिकको बिपी उद्यान पार्कमा लामो समयदेखि सञ्चालन हुँदै आएको अस्थायी थोक तरकारी तथा फलफूल बजार हटाएको छ। महानगरले डोजर प्रयोग गरी उद्यानभित्र बनाइएका टहरा तथा संरचनाहरू भत्काएको हो।

सार्वजनिक स्थलको संरक्षण गर्दै बिपी उद्यानलाई व्यवस्थित तथा हरियालीयुक्त पार्कका रूपमा विकास गर्ने योजनाअनुसार बजार हटाइएको महानगरको भनाइ छ । महानगरका अनुसार वीरगञ्ज–२ छपकैयास्थित रेल्वे रोड छेउमा करोडौँ लगानीमा निर्माण गरिएको सुविधा सम्पन्न नयाँ थोक तरकारी तथा फलफूल बजार गत मङ्सिर २१ गतेदेखि सञ्चालनमा आइसकेको छ। उक्त बजारमा थोक र खुद्रा कारोबार अलग–अलग व्यवस्था, फोहर व्यवस्थापन प्रणाली, पार्किङलगायत पूर्वाधार उपलब्ध छन्।
तर बिपी उद्यानमा व्यवसाय गर्दै आएका व्यापारीहरू नयाँ स्थानमा स्थानान्तरण हुन अस्वीकार गरेपछि पटक–पटक जारी गरिएको सूचनालाई बेवास्ता गरिएको भन्दै महानगरले कडा कदम चालेको जनाएको छ। बिहान ५ बजेदेखि नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थाबीच अस्थायी संरचना हटाउने कार्य गरिएको थियो। सो क्रममा केही व्यवसायीले विरोध जनाउँदै सडक अवरुद्ध गर्ने प्रयाससमेत गरेका थिए।
यता, फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष जगु साह तुराहाले पर्याप्त पूर्वसूचना नदिई एकाएक डोजर चलाइँदा लाखौँ रुपैयाँ बराबरको ताजा तरकारी र अन्य सामग्री नष्ट भएको आरोप लगाए। उनले छपकैयास्थित नयाँ बजार व्यवसायी तथा उपभोक्ताका लागि सहज नपर्ने दाबी गर्दै महानगरको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे।

