Aadarsh-Daily

श्रीमानले खुट्टा काटिदिएको पीडितसँग अस्पतालमै भेटे सांसद सुशील कानु, उपचार खर्च व्यहोर्ने प्रतिबद्धता

ad-4p

वीरगन्ज । पर्सा–२ का नवनिर्वाचित रास्वपाका सांसद सुशील कुमार कानुले आफ्नै श्रीमान् बाट घरेलु हिंसा परेर गम्भीर घाइते भएकी हरिकला देवी सहनीलाई भेटेर उनको उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन् ।

content ad p2

बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीलाई बिहीबार भेट्दै सांसद कानुले स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनले पीडितमाथि जघन्य आक्रमण गर्ने उनका श्रीमान् विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह समेत गरे ।

भेटका क्रममा सांसद कानुले पीडितको उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिँदै उपचार खर्चसमेत आफूले बेहोर्ने प्रतिबद्धता जनाए । “आफ्नो तलबबाट दिएर हुन्छ की अन्य कुनै माध्यमबाट हुन्छ तर उपचारको सम्पूर्ण खर्चको व्यवस्थापन गर्ने जिम्मेवारी मेरो हो,” उनले भने ।

घटनाका बेला आफू काठमाडौँमा पार्टीको अभिमुखीकरण कार्यक्रममा रहेको र जानकारी पाउनासाथ पार्टीका प्रतिनिधिलाई अस्पताल पठाएर अवस्थाबारे बुझ्न लगाएको बताउँदै उनले भने, “पार्टीको कार्यक्रममा रहँदा पनि मैले साथीहरूसँग निरन्तर पीडित महिलाको अवस्था बारे जानकारी लिइरहेको थिए । आज काठमाडौँबाट फर्किन साथ अस्पताल आएर भेटघाट गरेको छु ।”

content left

कानुले घटनाको विषयमा आफूले पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकसँग पनि जानकारी लिँदै दोषी शलाई छिटो नियन्त्रणमा लिन आग्रह गरेको जानकारी दिए । “सामान्य घरायसी विवादका क्रममा हातखुट्टा बाँधेर श्रीमतीको खुट्टा काट्ने जस्तो अमानवीय अपराध गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ,” उनले भने ।

महिला हिंसा नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक रहेको औँल्याउँदै संसद् अधिवेशन सुरु भएपछि यो विषय सदनमा उठाउने गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे । “घरेलु हिंसा रोक्न समाजका सबै पक्ष सक्रिय हुनुपर्छ । सरकारसँग पीडित महिलाको लागि राहतको व्यवस्था गर्न पनि माग गर्ने छु,”उनले थपे ।

के हो घटना ?

पर्साको पर्सागढी नगरपालिका–७ मा आइतबार बिहान करिब ७ बजे घरायसी विवादका क्रममा विश्वनाथ सहनीले आफ्नी श्रीमती हरिकला देवी सहनीमाथि क्रूर आक्रमण गरेका थिए । उनले सहनीको हातखुट्टा र मुख कपडाले बाँधेर काठ काट्ने आरी प्रयोग गरी खुट्टा काटेका थिए ।

गम्भीर घाइते अवस्थामा रहेकी सहनीको प्रहरी चौकी बढनियारबाट प्रहरी सहायक निरीक्षक सञ्जय पाण्डेको नेतृत्वमा पुगेको टोलीले उद्धार गरेको थियो । अत्यधिक रक्तस्राव भइरहेकी उनलाई प्रारम्भिक उपचारपछि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल सारिएको थियो ।

घटनापछि फरार रहेका आरोपी विश्वनाथ सहनीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।पीडित सहनीको स्थायी घर बाराको परवानीपुर गाउँपालिका–५, नौतनमा रहेको छ ।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily