

काठमाडौं । होर्मुज स्ट्रेट मा अप्रिलको अन्त्यसम्म अवरोध कायम रहे तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरब का अधिकारीहरूले आकलन गरेका छन् ।
द वाल स्ट्रिट जर्नल ले स्रोतहरूलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो । फेब्रुअरी २८ देखि सुरु भएको इरान–इजरायल तनावपछि तेलको मूल्यमा तीव्र उतारचढाव देखिएको छ ।
बिहीबार ब्रेन्ट क्रुड को मूल्य केही समयका लागि प्रति ब्यारेल ११९ डलर नजिक पुगेको थियो ।
रियादस्थित किङ फैसल सेन्टर फर रिसर्च एन्ड इस्लामिक स्टडिज का विशेषज्ञ उमेर करिम का अनुसार, युद्ध लम्बिए तेलको मूल्य कम्तीमा १५० डलरसम्म पुग्न सक्छ । उनले लाल सागर क्षेत्रमा अवरोध वा आक्रमण भए मूल्य अझै बढ्ने चेतावनी दिएका छन् ।
हाल लाल सागर मार्ग युरोप र एसियाबीचको प्रमुख ऊर्जा आपूर्ति मार्ग बनेको छ । साउदी अरब ले यान्बु बन्दरगाहमार्फत तेल निर्यातलाई निरन्तरता दिइरहेको छ ।
यसैबीच, कतार मा रहेको विश्वकै ठूलो एलएनजी निर्यात केन्द्र रास लाफान मा आक्रमण भएपछि क्षतिको मूल्यांकन भइरहेको छ ।
पेरिसस्थित सेन्टर अन ग्लोबल एनर्जी पोलिसी की विशेषज्ञ एनी-सोफी कोर्बो का अनुसार, उक्त केन्द्र मर्मत गर्न महिनौँ लाग्न सक्छ र सबैभन्दा खराब अवस्थामा सन् २०२६ सम्म पूर्ण सञ्चालनमा फर्किन नसक्ने सम्भावना छ ।
यसले विश्वव्यापी ग्यास आपूर्ति र मूल्यमा दीर्घकालीन असर पार्न सक्ने विश्लेषण गरिएको छ ।

