
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै केही सञ्चारमाध्यममा प्रकाशित समाचार तथ्यहीन र भ्रामक रहेको पाइएको छ।
नाम जुधेकै आधारमा सामान्य तथ्य जाँचसमेत नगरी बहालवाला सांसदको तस्बिरसहित समाचार प्रकाशन गर्दा उनको गम्भीर चरित्रहत्या भएको भन्दै पन्तले कडा आपत्ति जनाएका छन्। उनले आफू कुनै पनि बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा नरहेको स्पष्ट पार्दै यस्ता कपोलकल्पित समाचारको खण्डन गरेका छन्।

सांसद पन्तको खण्डनपछि गरिएको थप खोजबिनले समाचारमा गम्भीर त्रुटि रहेको देखाएको छ। कर्जा सूचना केन्द्र को वि.सं. २०७० फागुन १९ गतेको अभिलेखअनुसार कालोसूची नम्बर ५३१६ मा परेका व्यक्ति पर्साका सांसद नभई अर्कै व्यक्ति रहेको पुष्टि भएको छ।
कालोसूचीमा समावेश व्यक्ति ‘सफल चुनढुङ्गा उद्योग’का सञ्चालक तथा गुल्मीका बासिन्दा बुद्धिप्रसाद पन्त रहेको र उनका पिताको नाम हरिलाल पन्त रहेको खुलेको छ। एउटै नामका कारण गुल्मीका व्यवसायीको विवरणलाई पर्साका सांसदसँग जोडेर केही सञ्चारमाध्यमले गलत समाचार सम्प्रेषण गरेको पाइएको छ।
सार्वजनिक व्यक्तिको छवि निर्माण गर्न वर्षौं लाग्ने तर भ्रामक सूचनाले क्षणभरमै गम्भीर क्षति पुर्याउन सक्ने भन्दै यस्ता घटनाप्रति सञ्चारमाध्यमहरू जिम्मेवार र संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याइएको छ।


