
बीरगंज– लामो समयदेखि होटल व्यवसायमा सक्रिय बुद्धिप्रसाद (हरि) पन्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। पर्सा–१ बाट उनले पूर्वमन्त्री प्रदीप यादवलाई १४ हजार २४४ मतको फराकिलो अन्तरले पराजित गर्दै संसद् यात्रा तय गरेका हुन्। पन्तले २७ हजार २७४ मत प्राप्त गर्दा यादव १३ हजार ३० मतमा सीमित भए।
४६ वर्षीय पन्तको जीवन संघर्षपूर्ण रह्यो। सर्लाहीमा जन्मिएका उनले तीन वर्षकै उमेरमा बाबु गुमाएपछि आमासँगै रौतहटको चन्द्रपुरमा बाल्यकाल बिताए। त्यहीँ माध्यमिक शिक्षा पूरा गरेका पन्त १४ वर्षको उमेरमा वीरगञ्ज फर्किएर व्यवसायिक जीवनमा प्रवेश गरेका थिए।
वीरगञ्ज महानगरपालिकाका स्थायी बासिन्दा पन्त होटल व्यवसायमा स्थापित नाम हुन्। उनले क्लासिक होटल तथा कन्ट्री इन होटल सञ्चालन गर्दै आएका छन्। होटल तथा पर्यटन क्षेत्रमा सक्रिय रहँदै उनले होटल तथा पर्यटन व्यवसायी संघ, पर्साको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए। साथै उद्योग वाणिज्य संघ पर्साको कार्यसमिति सदस्य र होटल–पर्यटन समितिको उपसंयोजकको भूमिका पनि निर्वाह गरेका थिए।
व्यवसायमा सफलता पाए पनि देशको समग्र अवस्था र पुराना राजनीतिक दलहरूको कार्यशैलीप्रति असन्तुष्ट पन्त रास्वपामा आवद्ध भएका थिए। अढाइ वर्षअघि पार्टी प्रवेश गरेका उनलाई २०८१ पुसमा वीरगञ्जमा सम्पन्न जिल्ला भेलाले सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन गरेको थियो।
संगठन निर्माण र जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै उनले पर्सामा रास्वपाको उपस्थिति बलियो बनाए। यही सक्रियताले उनलाई शक्तिशाली उम्मेदवारका रूपमा स्थापित गर्यो र अन्ततः पूर्वमन्त्रीलाई पराजित गर्दै संसद् प्रवेश सम्भव बनायो।

निर्वाचित भएपछि पन्तले प्रधानमन्त्री बालेन शाहसँग भेटघाट गरेका थिए। मधेश प्रदेशका सांसदहरूसँगै भएको भेटमा उनले चुरे दोहन रोक्ने, वृक्षरोपण गर्ने र खानेपानीको दीर्घकालीन योजना ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
पन्तका अनुसार पर्सा–१ औद्योगिक क्षेत्रसँग जोडिएको संवेदनशील निर्वाचन क्षेत्र हो। यहाँ बारा–पर्सा औद्योगिक करिडोर र वीरगञ्ज भन्सार जस्ता महत्वपूर्ण आर्थिक केन्द्र भए पनि व्यवसायीहरूले नीतिगत जटिलता, लगानी असुरक्षा र सुरक्षा चुनौती भोगिरहेका छन्।
त्यस्तै, औद्योगिक सुरक्षा बल गठन, चोरी–तस्करी नियन्त्रण, भन्सार चुहावट रोक्ने, खानेपानी समस्या समाधान, नारायणी अस्पताल र रंगशाला जस्ता पूर्वाधार विकास उनका प्रमुख एजेन्डा हुन्।
पन्तका अनुसार पछिल्लो समय मधेशमा पानीको सतह घट्दै गएको छ, जसका कारण हैजा जस्ता रोगसमेत फैलिएका छन्। यसलाई दीर्घकालीन रूपमा समाधान गर्न चुरे संरक्षण अपरिहार्य रहेको उनले बताएका छन्।
चुनावी अनुभवबारे बोल्दै पन्तले जनतामा परिवर्तनको तीव्र चाहना देखिएको बताए। “पुराना भोट बैंक र ठेकेदार प्रथाले यसपटक काम गरेन,” उनले भने, “जनताले परिवर्तन रोजे र हामीलाई जिम्मेवारी दिए।”
विजयपछि उनले जुलुस नगरी घर–घर पुगेर मतदातालाई धन्यवाद दिएका थिए। जनताले सुशासन, भ्रष्टाचार नियन्त्रण, सहज पहुँच र जनप्रतिनिधिसँग प्रत्यक्ष सम्पर्क चाहेको उनले बताए।
अब पार्टीभित्र एकता कायम राख्दै जनताको काममा केन्द्रित हुने पन्तको भनाइ छ। “अब हाम्रो प्राथमिकता काम हो,” उनले भने।

