
सर्पले टोकेपछि उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगेका २५ वर्षीय युवकको थप उपचारका लागि रेफर गरिएपछि मृत्यु भएको छ।
जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका महेश यादवलाई मंगलबार राति करिब १२ः३० बजे विषालु सर्पले टोकेको थियो। परिवारका अनुसार सर्पदंशलगत्तै उनी आफैं प्रादेशिक अस्पताल पुगेका थिए।

अस्पतालमा भर्ना गरी उपचार सुरु गरिए पनि स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि राति करिब २ बजे चिकित्सकले आईसीयू वा भेन्टिलेटरमा राख्नुपर्ने बताएका थिए। तर आईसीयू तथा भेन्टिलेटर उपलब्ध नभएको भन्दै यादवलाई थप उपचारका लागि सर्पदंश उपचार केन्द्रमा रेफर गरिएको परिवारले जनाएको छ।
उपचार केन्द्रमा पुगेपछि चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए।
घटनापछि परिवारले प्रादेशिक अस्पतालमा आईसीयू तथा भेन्टिलेटरको पर्याप्त व्यवस्था नभएको भन्दै समयमै उपचार पाउन नसकेको गुनासो गरेको छ। यद्यपि, घटनाबारे अस्पताल प्रशासनको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन।

