
भारततर्फ लैजाँदै गरिएको ११० किलो ७६० ग्राम गाँजा सिरहामा सशस्त्र प्रहरीले बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा तीन जनालाई पनि पक्राउ गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार शुक्रबार राति करिब १ः३५ बजे विशेष सूचनाका आधारमा औरही गाउँपालिका–१ दरैया क्षेत्रमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। ६ वटा बोरामा टाउकोमा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा औरही–२ का ४३ वर्षीय मिश्रीलाल सदाय र ३१ वर्षीय मनिकलाल सदाय तथा धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन्। उनीहरूको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिलाई बरामद गाँजा र मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

