Aadarsh-Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

ad-4p

बैंक तथा डिजिटल वालेटको केवाइसी अपडेट गरिदिने भन्दै अनलाइनमार्फत सर्वसाधारणको रकम ठगी गरेको आरोपमा रौतहट प्रहरीले भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूमाथि ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी गरेको आरोप छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालले सोमबार गौरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीबारे जानकारी दिएका हुन्।

प्रहरीका अनुसार पीडितबाट प्राप्त २२ वटा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा असोज २३ गते गौर नगरपालिका–३ को पोखरिया टोल र वडा नं. ५ कोइरी टोलबाट तीन जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढी जिल्लाका २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा छन्। साहिल र सोनी गौर नगरपालिका–३ मा डेरा गरी बस्दै आएका थिए।

content left

प्रहरीले पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ एक लाख ६२ हजार २१० र भारतीय रुपैयाँ तीन हजार २३६ बरामद गरेको जनाएको छ। यसबाहेक सात थान मोबाइल, ११ थान सिमकार्ड, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, ३० थान बैंक भौचर, एक थान पेनड्राइभ र दुई थान मेमोरी कार्ड पनि बरामद गरिएको छ।

त्यसैगरी, विभिन्न बैंकका चेक, बैंकिङ विवरण भएका कागजात तथा रकमको हिसाबकिताब र मोबाइलको स्क्रिन सेयर गराउने तरिकासम्बन्धी विवरण लेखिएका डायरी र कापीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार ठगीमा संलग्न हुन सक्ने अन्य व्यक्तिको पहिचान र खोजी भइरहेको छ। पीडितको संख्या, रकमको कारोबार तथा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान जारी रहेको एसपी रिजालले बताएका छन्।

प्रहरीले बैंक वा डिजिटल वालेटको केवाइसी अपडेट गर्ने भन्दै अपरिचित व्यक्तिले फोन गरेमा सतर्क रहन आग्रह गरेको छ। ओटीपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण नदिन र अपरिचित व्यक्तिको आग्रहमा मोबाइलको स्क्रिन सेयर नगर्न पनि प्रहरीले सुझाव दिएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई दोषी ठहर गर्ने अन्तिम निर्णय भने अनुसन्धान र न्यायिक प्रक्रियाबाट हुनेछ।

सम्बन्धित खबर

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily

दशैं–तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

Aadarsh Daily