
वीरगञ्ज ७ साउन । पर्साको बहुदरमाई नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग पर्साले बहुदरमाई नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुको लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले सक्रियता बढाएको हो ।

भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका सदस्य सुरेन्द्र सिंहले प्रशिक्षण दिएका थिए ।
सोही अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि सेवा केन्द्र सहजीकरण समिति गठन गर्ने र नगरपालिकामा सेवा केन्द्रको स्थापना पनि निर्णय भएको आयोग पर्साका अध्यक्ष अहमदले बताए । उनकाअनुसार बाँकी रहेको सूचना तथा तथ्यांक संकलनका लागि केन्द्रीय आयोगलाई सिफारिस गर्ने पनि निर्णय गरिएको छ ।

