
वीरगञ्ज, ४ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसदीय दलको नेता चयन भएका छन् । पार्टीको बुढानीलकण्ठकस्थित एक होटेलमा जारी बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो ।

चुनावअघि नै संसदीय दलको नेता छान्ने निर्णय गरे पनि कानुनी रुपमा मान्यता नपाउने भएपछि संसदीय दलको बैठकबाट नेता छानिएको हो ।
लामिछानेको पार्टीले चुनावभन्दा अघि नै संसदीय दलको नेता छान्न उम्मेदवारी दर्ता गर्न आह्वान गरेको थियो । पार्टीका सम्पूर्ण साधारण सदस्यहरूले संसदीय दलको नेता चयनका लागि मतदान गर्न पाउने व्यवस्था गरिएको स्वतन्त्र पार्टीले जनाएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा २४ मा निर्वाचित प्रतिनिधि सभा सदस्यबाट संसदीय दल गठन गर्ने प्रावधान राखेको छ ।
भनिएको छ, ‘संघीय संसद् वा प्रदेश सभाको निर्वाचनमा कम्तीमा दुई स्थानमा निर्वाचित भई प्रतिनिधित्व गर्ने दलले संघीय संसदीय वा प्रदेश संसदीय दल गठन गर्न सक्नेछ । दलबाट निर्वाचित भई संघीय संसद वा प्रदेश सभामा प्रतिनिधित्व व्यक्ति सम्बन्धित संसदीय दलको सदस्य हुनेछ ।’

