
कप्तान रोहितकुमार पौडेलको शतक प्रेरित प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्ध २४ रनको जित निकालेको छ। यो जितसँगै नेपाल अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ।
ओमानको अल अमिरातमा भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमै अलआउट भयो। क्यानडाका आरोन जोहनसनले ४४ र समित गोहेलले ३५ रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालको इनिङ्स सम्हाल्ने क्रममा रोहितले १२५ बलमा १०१ रन बनाए। उनले आठ चौका र एक छक्का प्रहार गरे। योसँगै रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्। गुल्सन झाले ४८ र बसिर अहमदले ३० रनको योगदान दिए।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी र नन्दन यादवले दुई-दुई विकेट लिए।
जितपछि नेपालले ३३ खेलबाट २६ अंक जोडेको छ। पराजित क्यानडा २५ अंकसहित सातौँ स्थानमा छ।

