
बारा जिल्लाको सुवर्ण गाउँपालिका–८ मझरियामा एक महिलामाथि ‘बोक्सी’ भएको आरोप लगाउँदै कुटपिट र अमानवीय व्यवहार गरिएको छ। उक्त घटनामा संलग्न भएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य तीन जना फरार छन्।
प्रहरीका अनुसार असोज ११ गते स्थानीय बाबुसाहेब यादव, लालदेव पण्डित, विक्रम पण्डित र सुरेश यादवसहितले पीडित महिलामाथि शारीरिक तथा मानसिक यातना दिएका थिए। उनीहरूकै आरोपमा महिलालाई कपडा फाड़्ने, कपाल काट्ने र अर्धनग्न अवस्थामा राखी अपमान गर्ने कार्य भएको बताइएको छ।

घटनापछि गम्भीर अवस्थामा पुगेकी महिलालाई उपचारका लागि कलैया अस्पतालमार्फत वीरगञ्ज पठाइएको थियो। अहिले उनको स्वास्थ्यमा सुधार आएको परिवारले जनाएको छ।
प्रहरीले लालदेव पण्डितलाई नियन्त्रणमा लिएको छ भने बाँकी तीन जना फरारलाई खोजी कार्य भइरहेको जनाएको छ। पक्राउ परेकाविरुद्ध मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।
यस घटनाले अझै पनि ग्रामीण क्षेत्रमा अन्धविश्वासका नाममा महिलामाथि हुने हिंसा नियन्त्रणमा आउन नसकेको देखाएको छ। स्थानीयवासी र अधिकारकर्मीहरूले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

