
वीरगंज , मंसिर – १०
जनकपुर बोल्ट्सका खेलाडीले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा आमाको नाम लेखिएको जर्सी लगाएर मैदानमा उत्रने भएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सले आमाहरूप्रति सम्मान व्यक्त गर्न यो कदम चाल्ने जानकारी दिएको हो । खेलपछि जर्सीहरू अक्सनमा राखिने र त्यसबाट उठेको रकम आमा समूहहरूको सहयोगमा प्रयोग गरिने जनाइएको छ ।
खेलाडी ललित राजवंशीले आमाप्रति सम्मान व्यक्त गर्दै खेलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले पनि यो अभियान सराहनीय रहेको बताए र आफूले पनि खेलमा राम्रो प्रदर्शन गर्ने प्रतिवद्धता जनाए ।
एनपीएलको दोस्रो संस्करणमा दुवै टोलीले सुरुवाती दुई खेलमा हार भोगेका छन् ।

