
रौतहटको चन्द्रपुर नगरपालिका–१० अन्तर्गत चन्द्रपुर–गौर सडकखण्डको बालचनपुरमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
शनिबार साँझ करिब ७:३० बजे गरुडाबाट बालचनपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्याक्टरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०३–०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक गढीमाई नगरपालिका–४ सुन्दरपुर निवासी करिब ५० वर्षीय प्रमोद साह कानु गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
त्यसैगरी, मोटरसाइकलको पछाडि सवार सोही स्थानका ६५ वर्षीय जोगेन्द्र हजरा पासवानको टाउकोमा गम्भीर चोट लागेको छ। उनको प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै वीरगञ्जस्थित न्युरो अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डीएसपी रूपा लाबुङले जानकारी दिइन्।
दुर्घटनापछि ट्याक्टर चालक फरार भए पनि प्रहरीले घटनास्थल तथा आसपास क्षेत्रबाट शंकास्पद दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ। फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इन्स्पेक्टर दिनेश थापाको नेतृत्वमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली घटनास्थल खटिएको थियो।

