
बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा वीरगंजस्थित प्रसिद्ध गहवामाई मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। दुर्गा भवानीको पूजा–आराधना र दर्शनका लागि मन्दिर पुगेका श्रद्धालुले परिसरमा धार्मिक चहलपहल बढाएका छन्।

घटस्थापनासँगै नवरात्र सुरु भएको छ। आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक जमरा राख्ने तथा दुर्गा भवानीको पूजा आरम्भ गर्ने परम्परा छ। गहवामाई मन्दिरमा पनि दसैँको पहिलो दिनदेखि नै दर्शनार्थीको आवागमन बढेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ। नवरात्रभर नवदुर्गाको पूजा–आराधना गरिन्छ भने कात्तिक ४ गते विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ।
दसैँ सुरु भएसँगै वीरगंजका बजारमा किनमेल गर्ने र गाउँघर फर्किनेको चहलपहलसमेत बढेको छ। गहवामाई मन्दिरमा देखिएको भक्तजनको भीडले वीरगंजमा दसैँको धार्मिक र सांस्कृतिक उत्साह झल्काएको छ।

