
बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण मौसम प्रतिकूल बन्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीलाई सावधानी अपनाउन आग्रह गरेको छ।
मंगलबार जारी सूचनाअनुसार कात्तिक १२ गते बिहीबार रातिदेखि १४ गते शनिबारसम्म मधेश प्रदेशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ।

प्रशासनले सम्भावित जोखिमबाट जोगिन किसानलाई पाकेको धान बिहीबारअघि नै काटेर भित्र्याउन वा प्रतिकूल मौसम रहने अवधिभर कृषि कार्य स्थगित गर्न सुझाव दिएको छ।
त्यस्तै अत्यावश्यक कामबाहेक यात्रा नगर्न, यात्रा गर्नैपरे मौसमको अवस्था बुझेर मात्र निस्कन तथा नदी, खोला र खहरे आसपासका बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
बाढी तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता नम्बर १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरीको १११४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।
सम्भावित विपद्बाट जनधनको क्षति हुन नदिन आधिकारिक मौसम पूर्वानुमान र पूर्वसूचनालाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारी गर्न प्रशासनले सबैलाई अपिल गरेको छ।

